पोखरामा पनि गौरा पर्व

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ८, २०८०
Gaura

पोखरा, ८ भदौं । सुदुरपश्चिममा मनाइने गौरा पर्व पोखरामा पनि मनाइएको छ । सुदुरपश्चिम सम्पर्क एवं विकास समाजले यस बर्षको गौरा पर्व विरुडा खादै गौरा देवीको पूजा गरी डेउडा खेलेर मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका उपनेता एवं पूर्वमन्त्री विन्दु कुमार थापाले गौरा पर्व एतिहासिक र सांस्कृतिक मात्र नभइ एकताको सुत्रमा बाध्ने पर्वको रुपमा रहेको बताउनुभयो ।

उहाँले सास्कृतिक विविधता रहेको हाम्रो समाजमा सुदुरपश्चिमबासीको गौरा पर्व मनाउने प्रचलनले पोखरालाई थप सुन्दरता प्रदान गरेको बताउनुभयो ।

त्यसैगरी पोखरा विश्वविद्यालयका डिन प्रा. राजेश कुमार ठकुराठीले गौरा पर्वको एतिहासिक महत्वको बारेमा प्रकाश पार्दै सुदुरपश्चिमका महिलाहरुको विशेष पर्व रहेको जानकारी दिनुभयो ।

त्यस्तै समाजका सल्लाहकार डा.पदम खड्काले नेपालका सांस्कृतिक पर्व मध्ये गौरा पर्वको इतिहास अझ गर्विलो रहेको बताउँदै सबै नेपालीले मनाउनु पर्ने बताउनुभयो ।

समाजका अध्यक्ष सागर ऐर र सचिव हरेन्द्र प्रसाद जोशीले पर्वको महत्वलाई बुझेर सरकारले सार्वजानिक विदा दिनुपर्ने माग राख्नुभयो ।

कार्यक्रममा कुश, कास, सामा, तितेपाती र तिलको बोटबाट बनाइएको बोटको गौराको प्रतिमा र केराउ, गहद, मास, गहुँ लगायत पाँच किसिमका गेडागुडी भिजाएर तयार पारिएको विरुडाको प्रसाद ग्रहण गरी डेउडा खेलिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives