वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २५, २०८०
photo fecofun day

गण्डकी, २५ साउन (रासस) ः सामुदायिक वनको प्राकृतिक श्रोतलाई संरक्षणकर्ताको अधिकारको सुनिश्चित सहित मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

“उत्पादन, रोजगार र संमृद्धिका लागि सामुदायिक वन व्यवस्थापन” यस बर्षको नारा रहेको सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा पोखरा २५ सुईखेतस्थित एक्लेगरा सामुदायिक वनमा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताले वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सो अवसरमा सामुदायिक वन समुहको खाली क्षेत्रमा निम, तेजपात, चाँप,हर्रो, बर्रो लगायत विभिन्न जातका तीन सय विरुवा रोपिएको थियो । आवश्यक विरुवा डिभिजन वन कार्यालय कास्कीबाट उपलव्ध गराईएको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सरिता कुमालले चाँपको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. २५ वडाअध्यक्ष एवम् महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले वातावरण संरक्षणमा महत्वर्पूण भूमिका खेल्दै आएको सामुदायिक वनलाई उपभोक्तासंगै मुलुकको समृद्धिसंग जोड्नु पर्ने खाँचो औल्याउनुभयो ।

सामुदायिक वनमा काठ कुहिएर नष्ट हुने र विदेशबाट अरवौ रुपैयाको काठ तथा काठ जन्य सामाग्री आयात हुने प्रवृद्धिको अन्त्य गर्दै स्वदेशी काठको प्रयोग बढाउनु पर्नेमा उहाँको जोड थियो ।

महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वन काठको लागि मात्र नभई वातावरणीय र भूक्षय रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसको उचित उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको अवधारणाले नांङ्गा डाँडापाखा हरियालीमा परिणत भएको बताउँदै उपभोक्ताको योगदानको उच्च कदर गर्दै वन पैदावारमा जथाभावी कर नलगाउन सातवटै प्रदेश सरकारसंग जोडदार माग गर्नुभएको छ ।

वन समूहका अध्यक्ष दिननाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, लियो क्वलका डिष्ट्रिक एडभाइजर पुजन शाक्य लगायतले वृक्षारोपणको आवश्यकता एवम् वातावरण संरक्षणमा सामुदायिक वन खेल्दै आएको भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।

वन समूहका सचिव माधव अधिकारीका अनुसार चार हेक्टर क्षेत्रफल रहेको वन समुहमा २२ घर परिवार उपभोक्ता आवद्ध छन् । सामुदायिक वनको संरक्षण र प्रवद्र्धनसंगै बाँदर लगायत वन्यजन्तुको आतंक बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा लियो क्लव अफ पोखरा गण्डकीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives