गुरुकुलमा स्वागत तथा अभिमुखीकरण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १४, २०८०
Gurukul

हेमजा, १४ साउन । पोखरा महानगरपालिका–९, नयाँबजार स्थित गुरुकुल विद्यासदनका नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।

त्यस अवसरमा गुरुकुल मै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवम् विविध पक्षबारेमा अभिमुखीकरण पनि गरियो ।

कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि गण्डकी प्रदेश परीक्षा व्यवस्थापन निर्देशनालयका निर्देशक दीपेन्द्र ढकालले विद्यार्थीलाई संस्कारयुक्त बन्न सुझाव दिर्दै गुरुकुल पोखराकै नमुना अग्रणी विद्यालय भएको औँल्याउनुभयो । उहाँले सोचेर बोल्न र बोल्नभन्दा पहिला पढ्न आग्रह समेत गर्नुभयो ।

प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले मुलुकका लागि आवश्यक जनशक्ति उत्पादनमा गुरुकुलको भूमिका रहेको चर्चा गर्दै विद्यालयबाट आफ्नो ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न विद्यार्थी सचेतताका साथ अध्ययनमा लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

विद्यालयका अध्यक्ष रवि कार्कीले पठनपाठनका अलवा विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय अग्रसर रहेको दावी गर्दै विद्यार्थीले अनुशासनमा विशेष ख्याल राख्नुपर्ने जनाउनुभयो । उहाँले +२ संचालनका लागि छुट्टै भवन व्यवस्था गरिएको स्पष्ट पनि पार्नुभयो ।

प्रधानाध्यापक नारायण आचार्य, विद्यालय संचालक मध्येका एक भुवन सुवेदी, दश जोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठ लगायतले गुरुकुल नाममात्र नभई सार्थक गुरुकुल भएको औँल्याउनुभयो । उहाँहरुले नवआगन्तुक विद्यार्थीले सही विद्यालय रोजेको भन्दै विद्यार्थीको भविष्य उज्जवल रहने दावी पनि गर्नुभयो ।

त्यस अवसरमा कक्षा १२ का गरिमा दाहाल र सगुन ढुङगाना तथा कक्षा ११ का अनुजा राना र केशव ढकालले जीवनमा शिक्षाको महत्व माथि धारणा राख्नुभयो । कार्यक्रमका बीच भक्तराज रसाइलीले विद्यार्थी जीवनका आधारभूत पक्षका बारेमा सहजीकरण गर्नुभयो ।

त्यस्तै कलाकार प्रताव दास, विद्यार्थीहरु अनुज गिरी, आकृति केसी, रोसनी देवकोटा, झरना गुरुङ, महेश कुँवर, झरना छन्त्याल, प्रतिक्षा श्रेष्ठ, अमृता श्रेष्ठ, मौषम विक लगायतको समूहले विभिन्न प्रस्तुति राखे । नवआगन्तुक विद्यार्थीलाई टीका र खादा लगाएर स्वागत गरिएको हो ।

कक्षा १२ का विद्यार्थी गरिमा दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थी सगुन ढुङगानाले स्वागत तथा दश जोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives