ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग

राष्ट्र न्यूज सम्वाददाता
असार ११, २०८०
IMG_20230625_153237

पोखरा, ११ असार । नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ति भएको बताउनुभएको छ ।

‘भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्,त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ’उहाँले भन्नुभयो्,‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’

निर्देशक जोशी पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।

बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटकहरु मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य संघले सो कार्यक्रमको आयोजना गरेको अध्यक्ष पवनकुमार प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने र व्यवसायीहरुसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको र पर्यटकले चाहेजति खर्च गर्ने व्यवस्था गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।

‘नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्,यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ,’ उहाँले भन्नुभयो, एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।’

अध्यक्ष प्रजापतिको प्रश्नको उत्तर दिँदै राष्ट्र बैंक पोखराकी निर्देशक जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गर्नुभयो । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कुटनीतिक पहल गरिनुपर्ने उहाँको धारणा थियो ।

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उहाँले बताउनुभयो । निर्देशक जोशीले सय रुपैयाँभन्दा ठूला भारतीय नोटहरु साँटिदैन भन्ने थाहा हुँदाहुँदै पनि प्रचलन भइरहेको स्वीकार्दै भन्नुभयो्,‘भारतले नै नलिने पैसा राष्ट्र बैंकले लिँदैन । यसमा हाम्रो पनि दोष छ ।’

नेपाल राष्ट्र बैंकले डिजिटल पैसा प्रयोगमा ल्याउने तयारी थालेको र विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गरिने पनि उहाँले जानकारी दिनुभयो । निर्देशक जोशीले कर्जाको ब्याजदर घट्दो क्रममा रहेको तर समय भने लाग्ने पनि बताउनुभयो । तलरता बढेको र अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएकाले व्याजदर घटने उहाँको तर्क थियो ।

नेपाल बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष सूर्य रोकाले पनि भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र र्बैकले नै पहल गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोटहरु सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीहरुसँग आग्रह गर्नुभयो ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको सुनाउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा उपाध्यक्षद्धय देवेन्द्र केसी र उत्तममान बुद्धाचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, कार्यसमिति सदस्यहरु सु्दीप प्रधानाङ्ग,बालकृष्ण कोइराला, दीलिप श्रेष्ठ, जीवनकुमार श्रेष्ठलगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

भारतीय ठूला नोट कम दरमा सटही गर्नुपरेको र अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएकोमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives