मानक नेपाली भाषाबारे कार्यशाला

राष्ट्र न्यूज सम्वाददाता
जेठ २६, २०८०
nepali b

पोखरा, २६ जेठ । विश्वविद्यालय, स्कूल र सरकारी निकायकै लेखाइमा नेपाली भाषामा भद्रगोल छ । पत्रपत्रिका, स्कुल र क्याम्पस तहका पुस्तकमै एकरुपता छैन । साहित्यकार र सर्वसाधारणमा समेत नेपाली जसरी लेखे पनि काम चल्छ भन्ने भ्रम फैलिँदै छ । यस्ता धारणा चिर्न र भाषाको संरक्षण गर्न केही प्रयास भने सुरु भएका छन् ।

नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीमा २ कार्यपत्र प्रस्तुत हुने छन् ।

प्राडा चूडामणि बन्धु भाषाले ‘मानकीकरण र नेपाली भाषा’ र डा प्रेमप्रसाद चौलगाईंले ‘नेपाली भाषामा हुने गरेका भाषिक त्रुटि र निराकरणका उपायहरु’ शीर्षकका कार्यपत्रहरु प्रस्तुत गर्नुहुने छ । कार्यशालामा प्राध्यापक, कर्मचारी, लेखक, पत्रकार, कानुन व्यवसायी, प्रकाशक, शिक्षक गरी ३ सय जना सहभागी हुने आयोजकको अपेक्षा छ ।

नेपाली भाषाकै माध्यमबाट जीविकोपार्जन गर्नेहरुमा समेत भाषिक प्रयोगमा शुद्धता नदेखिएको नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपाने बताउनुहुन्छ । । उहाँ भन्नुहुन्छ्, ‘भाषाको प्रयोगमा सजगता ल्याउनका लागि र भाषिक त्रुटि गर्ने अवस्था नबनाउन कार्यशाला आयोजना गरेका हौं । हामीले भाषामा गल्ती गर्नु अक्षम्य नै हुन्छ ।’

प्रज्ञा प्रतिष्ठान, प्रकाशनहरु, सरकारी निकाय, विश्वविद्यालय, मिडिया, शिक्षक, सरकारी कर्मचारीसहित सर्वसाधारणमै नेपाली भाषाको ज्ञान, प्रयोगमा सचेतना र भाषाप्रति आकर्षण सिर्जना गर्न कार्यशाला फलदायी हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives