अन्नपूर्ण गाउँपालिकाको एक वर्ष

राष्ट्र न्यूज सम्वाददाता
जेठ ६, २०८०
annapurna gaupalika kaski pustak sarwajanik

पोखरा, ६ जेठ । अन्नपूर्ण गाउँपालिका कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए ।

जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रवार सार्वजनिक गर्नुभयो । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गर्नुभएको हो ।

एक वर्षमा १५ वटा कानून पारित गरिएको, ५० प्रतिशत शुल्कमा नागरिकको स्वास्थ्य बीमा, घरमै बसेर सबै खाले राजस्व तिर्न सक्ने व्यवस्था गरिएको, युवालाई गाइड तालिम दिइएको, पर्यटक सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको, रैथाने बाली प्रवद्र्धनलाई पहल गरेको, सुशासनका लागि बिहान १० बजे नै कर्मचारी कार्यालय हाजिर भएर राष्ट्रिय गानमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको र शाखा प्रमुखको नियमित बैठक गरिँदै आएकोलगायत काम गरिएको पुस्तकमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कार्यकालको एक वर्ष केही नयाँ कामको सुरूआत र सिकाइमा बितेको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले एक वर्षको समीक्षा गरेर अबको चार वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives