सफाइका लागि जान लागेको टोलीलाई पोखरा महानगरपालिकाको झन्डा हस्तान्तरण

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १६, २०७९
IMG_9234

पोखरा, १६ चैत । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या.भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताउनुभयो ।

सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद रु.१५ लाख सहयोग गरिने उहाँले बताउनुभयो ।

नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी (मेजर जनरल) दीपक कुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तर्गत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताउनुभयो ।

यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन् २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीहरूले गर्ने पुर्वअभ्यासका क्रियाकलापहरू ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताउनुभयो ।

अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू सङ्ख्यामा वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।

 नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives