रुपाताल छेउमा सिस्टेनी मेला

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३०, २०७९
Sisteni Meela (3)

पोखरा ३०, फागुन । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ ।

रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।

मेलाबारे जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्तिरुपा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताउनुभयो ।

‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे’ अध्यक्ष गुरुङ भन्नुभयो,‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’

मेलाकै अवसरमा साविक वडा स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता,भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता हुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान छ ।

मेला सम्पन्न गर्नको लागि ३ लाख ९९ हजार रुपैंयाँ खर्च हुने र २ लाख २५ हजार रुपैंयाँ बचत हुने अनुमान गरिएको अर्थ संकल समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताउनुभयो । मेलामा लाग्ने उक्त खर्च विभिन्न प्रायोजक संस्था र व्यक्तिबाट सहयोग संकलन गरी जुटाइनेछ ।

मेलामा सहभागी हुने दर्शकहरुको लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने मेला आयोजक मुल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै