पोखरा,५ फागुन । सोंथर बेँसी टारी बजार मेला – २०७९ सकिएको छ ।
फागुन १ देखि ३ गतेसम्म चलेको मेला करिब पाँच हजार दर्शकले अवलोकन गरेको बताइएको छ । मेलामा सहभागिताका पोखरा र लमजुङका विभिन्न स्थानबाट समेत दर्शकहरु पुगेका थिए ।
‘उत्साहजनक रुपमा मेला सफल भएको ठानेका छौं, आयोजक सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङले भन्नुभयो – सबैको सहयोगका कारण मेला सफल भयो, सबैप्रति आभार व्यक्त गर्दछौं ।’
‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको थियो ।
उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री भएको थियो ।
त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो÷ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिक तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
मेलाको समापन अवसरसँगै विभिन्न प्रतियोगिताका विजेता समूहलाई पुरस्कार वितरण गरिएको थियो । मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गरेको हो । ३५ वर्ष अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै लैजाने योजना सहित यसपटक मेला आयोजना गरिएको हो ।
मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी । सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् । फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने छ । त्यस्तै नजिकै टारी खेतहरुमा गोठहरु समेत रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिइ आनन्द समेत लिन सकिनेछ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा झुमे पोखरेली
पोखरा महोत्सवमा दर्शकको भीड
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु