फागुन, ४ पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिवार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ ।
मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराएको हो । आगामी शनिवार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।
यस वर्षको खुल्ला म्याराथनमा एक सय ५० जना धावकहरु सहभागी हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् ।
५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार छ सय र छ सय जनाले नाम दर्ता गराएका छन् ।
ह्विल चेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।
प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।
४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । सो रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी