पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०७९
manipal-hospital

पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।

संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।

यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् ।

‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार नियमित जाँचमा रगत, पिसाब,इसीजी, एक्सरे,युरिक एसीड,थाइराइड,युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवाहरु रहेका छन् ।

‘हाम्रा साधारण सदस्यहरुलाई थोरै भएपनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’,अध्यक्ष प्रजापतिले भन्नुभयो,‘हामीले मणिपाललाई हाम्रा साधारण सदस्यहरुले संघले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पताललाई गराइसकेका छौँ ।’

संघका महासचिव बलराम आचार्यका अनुसार यो सम्झौताको अवधि एक वर्ष रहेको छ । २०७९ साल माघ ३ गतेबाट कार्यान्वयनमा आएको सम्झौत अर्को वर्षको माघ २ गतेसम्म कायम रहने छ । त्यसपछि पनि सम्झौता नवीकरण गरिने महासचिव आचार्यले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives