लमजुङ, २ पुस (रासस) :जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ ।
आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१÷२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।
मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८÷४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रप्रमुख पवन बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक महिनाअघि सम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।” अझै दुई महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उहाँको भनाइ छ ।
यहाँ आयोजना ३५÷३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने उक्त आयोजनाले जनाएको छ ।
विगतको वर्षहरुमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण कार्य सुरु भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो ।
रु २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो । यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करिब आधा दर्जन आयोजनाहरुमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ ।
मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ ।
त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित