कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारवाहीका लागि सिफारिस गर्ने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १५, २०७९
kaski congress

पोखरा, १५ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाहीको लागि सिफारिस गर्ने भएको छ ।

नेपाली काँग्रेस कास्कीको विहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा पदाधिकारी एवं सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए ।

बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

‘अन्तरघात गर्नेको खोजी गरि कारवाही गर्न चर्को दबाब छ, केही प्रमाणहरु प्राप्त भएका छन् नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भन्नुभयो– प्राप्त प्रमाणका आधारमा मात्र कारवाहीका लागि सिफारिस गरिने छ ।’

बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापा र प्रकाश बराल सहित निर्वाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसी विरुद्ध गरिएको नारावाजीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ ।

बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार हुनु भएका सबै उम्मेद्वारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसँग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गरेको छ

बैठक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियोे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives