शिवालयमा भक्तजनको भीड

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३०, २०७९
SantoshGautam_Myagdi_RSS_30IMG_5763

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा सोमबार पूजाआजाका लागि पुगेका भक्तजन । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि रहेको गलेश्वर मन्दिरमा साउन महिनाको अन्तिम सोमबार बिशेष पुजाआजा हुने गर्छ । तस्बिर ः सन्तोष गौतम÷रासस

काठमाडौँ, ३० साउन (रासस) ःसौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उहाँले सुनाउनुभयो । भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारी फेरि बढ्न थालेकाले पशुपतिनाथ मन्दिर छिर्ने मूलढोकामा मास्क नभएका भक्तजनलाई मास्क वितरण गरेरमात्र प्रवे गराइएको छ । स्वास्थ्य सुरक्षाका लागि कोषले यस्तो उपाय अपनाएको पराजुलीले सुनाउनुभयो ।

बिहान ३ः१५ बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउने बोल बम यात्री भक्तजनको पनि पशुपति क्षेत्रमा भीड छ । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् ।

कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

बिहान चार बजेदेखि नै यी मन्दिरको ढोका पनि खुला गरिएको जनाइएको छ । यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives