गण्डकी, ३ साउन(रासस)ः गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा यही साउन ६ गतेदेखि ८ गतेसम्म पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका विषयमा विद्यार्थी एवम् सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गर्नुका साथै बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।
सरोकारवालाको आवश्यकताका आधारमा आवश्यक पर्ने जनशक्तिको उत्पादन र विकास गरी प्रदेशका लागि आवश्यक पर्ने मानव संशाधनको पूरा गर्ने उद्देश्य समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार भन्ने मूल नाराका साथ गर्न लागिएको मेलामा सहभागीहरूले रोजगारीका सम्भावित क्षेत्रहरूका बारेमा जानकारी हासिल गर्ने बताउनुभयो ।
“प्राविधिक शिक्षा र व्यवसायिक सीप हासिल गर्न चाहने विद्यार्थी र तिनका अभिभावकका लागि यसै प्रदेशमा प्राविधिक शिक्षा अध्ययन सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा जानकारी प्राप्त गर्नेछन्”, उहाँले भन्नुभयो,“ यसबाट स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सहजीकरण हुनुका साथै पूर्व सिकाइको विधिमा आधारित सिप परीक्षण सम्बन्धमा सरोकारवालाका लागि जानकारी एवम् प्रचारप्रसार हुने र राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनका लागि आधार तयार हुनेछ ।”
करिब १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाका लागि नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सहयोगमा सञ्चालित नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोग तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायकि तालिम परिषद् गण्डकी प्रदेश कार्यालयले सहकार्य गर्नेछन् ।
त्यस्तै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारादाताहरू, राइट फर चिल्ड्रेन समेतको सहकार्य हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी