काठमाडौँ, १० जेठ (रासस) :स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।
विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसक्नुभएको छ ।
काठमाडौँ र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ । पोखरा महानगरको मतगणना दिउँसो देखि रोकिएको छ ।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टिकाराम खड्का अगाडि हुनुहुन्छ ।
नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ ।
जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् । कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।
कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ । एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी