आजदेखि राष्ट्रिय कृषिगणना

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ६, २०७९
Krishigadana

पोखरा, ६ वैशाख । केन्द्रीय तथ्याङ्क विभागले आजदेखि राष्ट्रिय कृषिगणना शुरु गरेको छ ।

हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषिगणना हुँदै आएको छ । यसपटक सातौं कृषिगणना हो । गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ ।

४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ ।

गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउविजन, विषादी र मलखादको प्रयोग लगायतको विवरण सङ्कलन गरिने छ ।

त्यस्तै, जातअनुसार पाल्तु पशुपंक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रर्याप्तताका बारेमा जानकारी सङ्कलन हुनेछ ।

यता गण्डकी प्रदेशका ११ जिल्ला गरिने कृषिगणनाको सम्पूर्ण तयारी पूरा भएको कृषिगणना प्रदेश कार्यालयका प्रमुख जग्गु लाल बस्यालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा एक हजार तीन सय नौ क्षेत्र छनोट गरी गणना गरिदै छ । गणनाका क्रममा ३२ हजार सात सय २५ कृषकसम्म पुगिने छ ।

‘छनोटमा आधारीत गणना हो, कृषि गणना प्रदेश कार्यालयका प्रमुख  बस्यालले भन्नुभयो, छनोट गरिएका क्षेत्रमा गणना गरिने छ ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives