चैते दशैँ मेलाका अवसरमा बागलुङ कालिका भगवती मन्दिरमा लागेको भक्तजनको भीड । तस्विरः तारानाथ आचार्य (रासस)
गलकोट, २६ चैत (रासस) :आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ ।
चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ ।
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैतेदसैँको मुख्य दिनमा बिहान तीन बजेदेखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
“चैतेदसैँ सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो “गण्डकी प्रदेशमा चैतेदसैँको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिँदै आएको छ, पछिल्लो समय भइरहेको प्रचारप्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।”
चैतेदसैँका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला यही चैत २८ गतेसम्म चल्नेछ । अहिले कालिका मन्दिर परिसर दुलहीझैँ सिगारिएको छ ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)