जनकपुर, २० चैत (रासस) :जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।
आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।
जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारीदिनुभयो ।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उहाँको भनाइ छ ।
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताउनुभयो ।
सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।
जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी