रोजगार मेला गरौं – मन्त्री श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७८
Photo 12

पोखरा, १२ चैत । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार मेला आवश्यक रहेको बताउनु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३९ औं व्यवस्थापन समीक्षा गोष्ठीको शनिवार पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो आवश्यकता औल्याउनु भएको हो ।

‘हामीसँग दक्ष जनशक्ति कति छ, कस्तो छ अनि रोजगारदातालाई कस्तो जनशक्ति कति आवश्यक छ त्यो पत्ता लगाउन आवश्यक छ, उहाँले भन्नुभयो, – त्यसका लागि रोजगार मेला गरौं र त्यसको विवरण तयार पारौं ।’

उहाँले काजगी रुपमा शिक्षित जनशक्ति उत्पादन गरेर मात्रै नपुग्ने भन्दै उनीहरुको अवस्थाका बारेमा समेत खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले शिक्षामा लगानी अनुसारको प्रतिफल आवश्यक रहेको बताउनुभयो । समाज परिवर्तन गर्न सक्ने र देशलाई उन्नत बनाउन सक्ने शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेले सरकारले चाहे अनुसारको गरिबी न्यूनिकरणका कार्यक्रममा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले ठाउँको आवश्यकता हेरेर त्यस अनुकूल हुने गरी शिक्षा दिइनुपर्ने बताउनुभयो ।

चैत्र १५ गतेसम्म चल्ने कार्यक्रममा परिषद् अन्तर्गतका ६३ शिक्षालयका प्राचार्य, प्रदेश निर्देशक, निर्देशक र महाशाखाका कर्मचारी गरी एक सय जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा विगतको समीक्षा गर्दै भावि योजनासहित प्रतिवद्वता पत्र जारी गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख शिवराज अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोखरेल ,शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव देवन्द्र लामिछाने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक दीपक प्रसाद पौडेल, गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्य, प्राविधिक महाशाखाका उपनिर्देशक इश्वरचन्द्र घिमिरेले बोल्नु भएको थियो ।

कार्यक्रम परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives