वडाध्यक्ष कार्कीको निधनपछि राजमार्ग अवरुद्धः यात्रु बीच बाटोमै अलपत्र

रासस
फागुन १४, २०७८
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

वीरेन्द्रनगर, १४ फागुन (रासस) ःमोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते हुनुभएको थियो ।

उहाँ सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुनुहुन्छ । कार्की कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार