नेका गण्डकीको कार्यालय उद्घाटन गर्न केन्द्रीय नेताहरु पोखरा आउँदै

राष्ट्र न्यूज सम्वाददाता
माघ २२, २०७८
ne ka gandaki

पोखरा, २२ माघ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आइतबार उद्घाटन हुने भएको छ ।

पोखरा महानगरपालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वरिष्ठ नेता पौडेलसँगै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिवन परियार, नेता गोपलामान श्रष्ठ नेता डा.शशांक कोइरालको पनि सहभागिता रहने नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।

‘उहाँहरुसँगै गण्डकी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सवै नेताहरुलाई खवर गरेका छौं’ सभापति शर्माले भन्नुभयो,‘ गण्डकी प्रदेशका नेताहरुको सहभागितामा कार्यालयको विधिवतरुपमा उद्घाटन गर्ने छौं ।’गण्डकी प्रदेशका गतिविधिलाई चुस्त बनाउन तेर्सापट्टीमा रहेको घर भाडामा लिई कार्यालय स्थापना गरेको शर्माले जानकारी दिनुभयो ।

‘संगठनलाई मजवुद बनाउदै आगामी निर्वाचनमा गण्डकी प्रदेशमा काँग्रेसलाई विजयी गराउनका लागि कार्यालय स्थापना गरेर काम अगाडि बढाउँने छौं’ शर्माले भन्नुभयो,‘ तत्काल भाडामा कार्यालय सञ्चालन गरेपनि आफ्नो कार्यकालमा स्थायीरुपमै कार्यालय स्थापना गरेर छाड्ने छौं ।’

कोभिडका कारण खुल्ला ठाउँमा ठूलो कार्यक्रम गर्न नसकेको बताउँदै शर्माले कार्यालय परिषरमै हुने कार्यक्रममा गण्डकी प्रदेशका पार्टी भित्रकै परिवार मात्रै बोलाइएको जानकारी दिनुभयो । वातावरण सहज भएपछि छिट्टै नै गण्डकी प्रदेशले आमसभा गर्ने उहाँले जानकारी दिनुभयो। कार्यक्रममा सहिद क्या. यज्ञबहादुर थापाको जिवनीमा लेखिएको पुस्तक पनि विमोचन गरिने भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ र प्रवक्ता माधव बास्तोला मधुले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives