काठमाडौँ, २२ माघ (रासस) ःपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।
अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ ।
‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ । महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ ।
भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी