जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको २४ औँ स्मृति दिवस

रासस
असाेज २, २०७८
ganesh-man-sing

काठमाडौँ, २ असोज (रासस) । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी उहाँ प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उहाँले राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उहाँको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो ।

उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो ।

विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । उहाँ विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उहाँले सफाइ पाउनुभयो । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उहाँले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives