पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

रासस
भाद्र १४, २०७८
SantoshGautam_Myagdi_RSS_15(2)

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले १० वटा घरमा क्षति । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाड कालीगण्डकीमा खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेर क्षति भएको हो । तस्वीर ः सन्तोष गौतम÷रासस

बेनी, १४ भदौ (रासस) ।बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पु¥याएकोे जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पु¥याएका थिए ।

उहाँले अहिलेपनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिनुभयो । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए ।

स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए । “पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ”, स्थानीयवासी सुरेश पुनले भन्नुभयो ।

उहाँका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

पहिरो खसेर आएको बाढीले पु¥याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives