नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

रासस
भाद्र १२, २०७८
money

फुङ्लिङ, १२ भदौ (रासस) । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ ।

गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।

महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ ।

उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्फत पाएका थिए ।

माध्यमिक विद्यालय सञ्चालन अनुमतिप्राप्त गरे पनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलबवापतको रकम निकासा गरेको हो ।

उक्त विद्यालयमा सम्बन्धित विषय शिक्षक नियुक्ति नभएको तर, गाउँपालिकाले भने प्रतिविद्यालय रु तीन लाख ६६ हजारका दरले रु सात लाख ३२ हजार रकम निकासा गरेको पाइएको छ ।

यता शिक्षक नियुक्ति नै नगरी गाउँपालिकाले निकासा गरेको उक्त रकम असुलउपर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औँल्याएको छ । नियुक्ति नभएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आपूmलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives