गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ९, २०७८
health material support (2)

पोखरा, ९ भदौ । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो।

झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गर्नुभयो ।
गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने बताउनुभयो । प्राप्त सामग्रीको उचित सदुपयोग गर्न मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई निर्देशन समेत दिए ।

सिमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले पूर्वमन्त्री दीपक बोहोरा र उहाँकी दिदी पूर्व स्वास्थ्य विशेष सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउनुभयो । अहिले प्रतिष्ठानको अध्यक्ष केसी र उपाध्यक्ष बोहोरा हुनुुहुन्छ ।

प्रतिष्ठानले अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको उहाँको भनाइ छ । झन्डै ५ करोडका सामग्री चार्टर लाइटमा नेपाल ल्याइएको हो ।

कार्यकारी निर्देशक थापाका अनुसार सात वटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम छ । २०६० सालामा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । विश्वमा नाम चलेका विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धानको काम समेत प्रतिष्ठानले गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives