शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादन विशेष ध्यान दिऔं – श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ८, २०७८
Pasu

पोखरा, ८ भदौ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई बेरोजगार उत्पादन गर्ने मेशिन बनाउन नहुने बताउनु भएको छ ।

उहाँले शिक्षामा आमूल परिवर्तन गरी उत्पादन र प्रविधिसँग जोड्नुपर्ने औल्याउनुभयो । मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य र दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यानदिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीले गरेको दुई हप्ते कृत्रिम गर्भाधान तालिमको समापनमा बोल्दै उहाँले देश विकासका लागि हरेक नागरिकको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।

उहाँले कृषि प्रधान देश भनेर मात्र नहुने भन्दै कृषि उत्पादन बाहिरबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख डा दीर्घनाथ ढुङ्गानाले सिक्ने बाँनीले मात्र व्यक्ति सक्षम र सीपवान बन्ने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले सीप हरेक व्यक्तिका लागि महत्वपूर्ण हतियार भएको बताउनुभयो ।

नेल्टा महासचिव सुरेश श्रेष्ठले यस्ता तालिमले रोजगारी सृजना गर्ने र युवालाई विदेश पलायनबाट रोक्ने विश्साव व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेल्टा गण्डकी उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, कास्की अध्यक्ष बसन्त कोइराला, सहभागी विनोद शाहीले बोल्नुभएको थियो ।

कार्यक्रम नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको थियो । तालिममा विभिन्न ९ जिल्लाका १५ जना सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives