जिल्ला समन्वय समिति तनहुँले बिहीबार दमौलीमा सरकारी कार्यालयका प्रमुखसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । तस्बिरः तस्बिर ः कृष्ण न्यौपाने÷रासस
तनहुँ, ३ भदौ (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।”
प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उहाँले बताउनुभयो ।
दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभयो ।
बाढीपहिराले प्रदेशका मनाङ, गोरखा, लम्जुङ र तनहुँ जिल्लामा बढी क्षति भएको छ । गण्डकी प्रदेश सरकारको कार्यसम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्याङकन थालिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पोखरेलले आजै पार्टी कार्यालयमा कार्यकर्तालाई भेटघाट गरी निर्देशन दिनुभएको छ ।
त्यसैगरी केही दिन अघि आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला पुल बगाएपछि त्यसको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न