रसुवा, ३ भदौ (रासस) । गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ ।
निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।
राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको थियो ।
सो घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौँस्थित ट्रमा सेन्टर पु¥याइएको प्रहरीले जनाएको छ ।
घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ ।
आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोज उद्धार टोलीको अथक मेहनतबाट अपराह्न चारै जनाको शव फेला परेको थियो ।
गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरो जाँदा एकै घरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी