१३० देशका राष्ट्रगान गाउन सक्ने रामजी

रासस
भाद्र ३, २०७८
RamThapa_Baglung_RSS_03 (1)

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने अभियानमा रहनुभएका गायक रामजी नेपाली बागलुङ र म्याग्दीको सीमामा अवस्थित पर्यटकीयस्थल बेलढुङगाबाट नेपालको राष्ट्रगान गाउँदै । उहाँ हालसम्म १३० देशका राष्ट्रगान गाउन सक्ने हुनुभएको छ । तस्वीर ः रामबहादुर थापा÷रासस

रामबहादुर थापा

बागलुङ, ३ भदौ (रासस) । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ ।

गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा ग¥यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाउनुभएको छैन । मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो । पर्यटकीय शहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उहाँको योजना तत्काललाई पर सरेको छ ।

महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उहाँ निर्धक्क हुनुहुन्छ । पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उहाँलाई दिएका छन् ।

लम्बिँदो निषेधाज्ञाबीच केही समय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाउनुभयो । महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उहाँले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवद्र्धनमा स्थानीयवासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आउनुभएको छ ।

सो सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुङ्गासँग जोड्नुभयो । गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुग्नुभएका उहाँले बेलढुङ्गामा उभिएर राष्ट्रगान गाउनुभयो । आफ्नो विश्वयात्राको सन्देश दिनुभयो ।

त्यहाँ उहाँले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाउनुभयो । चालीस वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरुपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताउनुभयो ।

त्यसबखत बेलढुङ्गामा उपस्थित स्थानीयवासीसहित सबैले देशको राष्ट्रगानको सम्मान गरे । गायक नेपालीप्रति श्रद्धा राखे । समुद्री सतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाउनुभयो । “देश विदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले”, उहाँले भन्नुभयो ।

बेलढुङ्गा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो । त्यसको प्रवद्र्धनमा बागलुङ र म्याग्दी दुवैतर्फबाट प्रयास भइरहेको छ । ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रुपमा चिनिने बेलढुङ्गा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ ।

त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन् । बेलढुङ्गा पुग्नुभन्दा अघिल्लो रात राष्ट्रगान यात्री नेपालीले धम्जाको ओखलेमा रहेको सामुदायिक घरबास (होमस्टे) को पाहुना सत्कारकक्षमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ । विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उहाँ हुनुहुन्छ । नेपालीको सङ्गीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ ।

यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उहाँ राष्ट्रगानको अभ्यासमै लिप्त देखिनुहुन्छ । साथै रहनुभएका पर्यटन अभियानकर्मी आरके अदीप्त गिरीले गायक नेपालीको क्षमतालाई ‘विलक्षण’को उपमा दिनुभयो । उहाँले अलग भाषाका सयौँ राष्ट्रगान गाउनसक्नु चान्नेचुन्ने विषय नभएको बताउनुभयो । “उहाँको प्रतिभा, क्षमताबारे पछि अध्ययन–अनुसन्धान पनि हुन सक्छ”, गिरीले भन्नुभयो ।

गायक नेपालीले आफ्नो सम्पूर्ण ध्यान, दृष्टि कसरी विश्वभरका राष्ट्रगान गाउने भन्नेमा रहेको र त्यसकै अभ्यासमा तल्लिन भइरहेको बताउनुभयो । कोरोना महामारीले विश्वयात्रा रोकिन पुगे पनि फुर्सदको समय सङ्गीत साधनामा बिताउन पाएको नेपालीले सुनाउनुभयो ।

यसबीचमा उहाँ १३० देशका राष्ट्रगान गाउन सक्ने भइसक्नुभएको छ । बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्कनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २३२ देश पुग्ने उहाँको महत्वकांक्षी सपना छ । सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उहाँको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ । विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उहाँले आफ्नो विश्वयात्राबीचमै स्थगन गर्नुपरेको थियो ।

भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा विसं २०७६ पुसमा सिलुगढीबाट नेपाली घर फर्कनुभएको थियो । उहाँले सन् २०१७ मा बेल्जीयम, फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहरमा राष्ट्रगान गाइसक्नुभएको छ ।

चाँडै स्थिति ठीकठाक भए आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा नेपाली आशावादी हुनुहुन्छ । सबैभन्दा धेरै देशका राष्ट्रगान गाउनसक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने उहाँको लक्ष्य छ ।

संसारका अनेक भाषामा बनेका राष्ट्रगान गाउनु चुनौतीपूर्ण भए पनि त्यसलाई देश चिनाउने माध्यम र आफ्नो आत्म गौरवका रुपमा नेपालीले स्वीकार्नुभएको छ ।

नेपालीले गत वर्ष विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यहाँ आयोजित समारोहमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • एसओएसमा विद्यार्थी परिषद् पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १७ वैशाख । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्…
  • विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०८१
    पोखरा, १५ वैशाख । पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न…
  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…

Archives

Archives