नारायणप्रसाद घिमिरे
काठमाडौँ, २ भदौ (रासस) । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो ।
तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् ।
फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिनुभयो ।
“काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो”, श्रेष्ठले भन्नुभयो ।
त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउनुभयो ।
कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाउनुभयो ।
घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताउनुभयो । “सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ”, उहाँले भन्नुभयो ।
करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उहाँको भनाइ छ । फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ ।
कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिनुभयो । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उहाँले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी