झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो ।
अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उहाँले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा बढी १०० शय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसीयु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् ।
“एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भन्नुभयो, “बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।” अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उहाँले ५० सिलिन्डर अक्सिजन अस्पताल आफँैले दैनिक उत्पादन गरिरहेको बताउनुभयो ।
पछिल्लो समय बालबालिकामा कोभिडको सङ्क्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिनुभयो ।
विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेशन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेशन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आइसीयु व्यवस्था गरिएको बताउनुभयो ।
“उपलब्ध सबै शय्या, आइसीयु र भेन्टिलेटर सङ्क्रमितले भरिइसकेका छन्”, बिर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भन्नुभयो, “अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ ।” एक सातायता कोभिडका सङ्क्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उहाँले बताउनुभयो ।
अस्पतालले सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो ।
एक साता अघिसम्म २४ घण्टामा १०० अक्सिजन सिलिन्डरले पुग्ने गरेकामा हाल दैनिक १०० सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिनुभयो । “एम्बुलेन्स र सिटीसफारीहरुले बिरामी ओसारेका ओसारै छन्”, उहाँले भन्नुभयो, “ओपीडी बन्द गरेर विशेषज्ञ चिकित्सकहरुलाई नै कोभिडका बिरामीको उपचारमा परिचालन गरेका छौँ ।” दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ ।
दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन् । सबै शय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दङ्गालले बताउनुभयो । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र सङ्क्रमितहरु अस्पताल आउन थालेका छन् ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी