कोरोना महामारीमा विष सेवन गर्ने बढे

रासस
श्रावण ७, २०७८
corona 2

काभ्रेपलाञ्चोक, ७ साउन (रासस) : डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् ।

माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए ।

माइली भन्छिन्, “हामीलाई त लागेकै थिएन उहाँले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उहाँको कुरालाई गम्भीररूपमा लिएनौँ तर उहाँले पिउनुभएपछि हाम्रो त होसै उड्यो”, उनी गुनासो गर्छिन्, “निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उहाँको अवस्था सख्त भइसकेको थियो ।”

उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए । चिकित्सकको १५ दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ ।

बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, “तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ?” बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियोे ।

उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ ।

दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए । आम्दानीको स्रोत नभएका कारण निरास हुनुभएका श्रीमान्ले विष सेवन गर्नुभएको अम्बिकाले बताइन् ।

भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो । दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताउनुभयो ।

“प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ”, उहाँले भन्नुभयो । मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उहाँको भनाइ थियो ।

भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…