डायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव

रासस
जेठ १९, २०७८
Damauli Hospital

दमौली, १९ जेठ (रासस) । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ ।

कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।

नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिनुभयो ।

“पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उहाँले भन्नुभयो, “मिर्गौला पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।” कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् ।

“दमौलीमै भएका आफन्त वा साथीभाई आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँले रगत अभाव हुँदा आफूहरुलाई समस्या परेको बताउनुभयो ।

“निषेधाज्ञा अगाडि त समस्या थिएन, तर अहिले निषेधाज्ञा भएपछि समस्या प¥यो”, उहाँले भन्नुभयो । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

आकस्मिक रक्तदान मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउँदै आएका एक मिर्गाैला पीडितलाई रासस दमौली प्रतिनिधिको समन्वयमा रगत उपलब्ध गराइएको छ ।

रगत अभाव भएको जानकारी गराएपछि रासस प्रतिनिधिको समन्वयमा उहाँलाई रगत उपलब्ध गराइएको हो । व्यास–३ निवासी योगिता श्रेष्ठले मिर्गौला पीडितका लागि रगत उपलब्ध गराउनुभएको छ ।

पुण्य कामका लागि रगत दिन पाउँदा आफूलाई पनि खुशी लागेको श्रेष्ठले बताउनुभयो । “रक्तदान जीवनदान हो, सबैले रगत चाहिएकालाई सहयोग गरौँ”, उहाँले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै