भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता, दाजुभाइ मृत फेला

रासस
जेठ २५, २०७८
1517213734dead-770×410

जाजरकोट÷महोत्तरी, २५ जेठ (रासस)। भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ ।

उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

उता महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् ।

सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् ।

दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ । रमेशको हातमा सामान्य चोट र नाकबाट रगत बगी रहेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै