जलेश्वर, २५ जेठ (रासस) । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चार/पाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।
लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।
गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था गम्भीर रहेको परिवारजनले जनाएको छ ।
यता लुटेराले उनको घरबाट सुनको नाकको फूली–२ आना, कानको बाली–४ आना, तिलहरी–६ आना, मङ्गलसूत्र–६ आना, सामसुङ्ग मोबाईल थान–२ र नगद रु २५ हजारसहित तीन लाख बढीको सरसामान लुटेर लगेको जनाइएको छ ।
यसैबीच प्रहरीले घटना स्थलबाट कटुवा पेस्तोलमा लाग्ने एक राउण्ड गोली र सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान–एक बरामद गरेको छ भने लुटेराको खोजतलासको लागि व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी