गण्डकीमा पाँच लाख ११ हजार बढीको स्वास्थ्य बीमा

तपाईको परिवारले गर्नुभयो ?

राष्ट्र न्यूज सम्वाददाता
जेठ १७, २०७८
bima photo

पोखरा, १७ जेठ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमसँग गण्डकी प्रदेश एक लाख ७५ हजार पाँच सय ८१ परिवार जोडिएका छन् ।

त्यति संख्यामा परिवार सहभागी हुँदा यस प्रदेशमा पाँच लाख ११ हजार चार सय ३२ जना नागरिक बीमा कार्यक्रमसँग जोडिएका छन् ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भर्खरै मात्र बीमा कार्यक्रम शुरु गरिएको छ । त्यस बाहेक कास्कीमा एक लाख ६७ हजार ६ सय १९, बागलुङमा ६७ हजार आठ सय ९९, गोरखामा ६१ हजार सात सय ९२, लमजुङमा चार हजार पाँच सय ५८, पूर्वी नवलपरासीमा १५ हजार नौ सय ४९ जना बीमा कार्यक्रमसँग जोडिएका छन् ।

त्यस्तै, म्याग्दीमा २३ हजार तीन सय ४३, पर्वतमा १३ हजार दुई सय १, स्याङ्जामा ७१ हजार नौ सय ८३ र तनहुँमा ८५ हजार ८४ जना बीमा कार्यक्रमसँग जोडिएका छन् ।

सरकारले अति गरिबको सूचीमा परेका परिवार, ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, एचआइभी, टिबी सम्वन्धी रोगी , कुष्ठरोगीका परिवार र अति अशक्त अपाङ्गता भएका परिवारको बीमा निःशुल्क गर्दै आएको छ । महिला स्वास्थ्य स्वंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत सहुलियत दिएको छ ।

शहरमा बीमा कार्यक्रम बढी आकर्षण बनेको छ । दुर्गम र गाउँमा स्वास्थ्य सेवा प्रदायक अस्पताल नहुँदा आकर्षण कम छ ।

‘बीमा कार्यक्रमबाट आमनागरिक लाभान्वित हुनुहुन्छ, स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलले भन्नुभयो, कार्यक्रमप्रति केही गुनासाहरु भएपनि कार्यक्रमसँग जोडिएर सेवा लिनु भएका ९० प्रतिशत सन्तुष्ठ हुनुहुन्छ।’

काठमाण्डौं र ललितपुर बाहेक ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम जोडिएपछि देशभरका सबै सरकारी अस्पताल र सरकारले तोकेका निजी अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिन सकिन्छ ।

२०७१ असारबाट बागलुङ, इलाम र कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएपनि २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट कार्यन्वयनमा आएको हो ।

स्वास्थ्य सेवाको खर्चलाई कम गर्नु र स्वास्थ्य समस्याका कारण हुन सक्ने आर्थिक जोखिम न्यूनिकरण गर्नु स्वास्थ्य बीमा कार्यक्रमको मुख्य उद्देश्य हो । उपचारका क्रममा हुन सक्ने ठूलो खर्चको भार कम गर्न यो कार्यक्रमले योगदान गर्छ ।

पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय रकम तिरेपछि एक लाख रुपैयाँसम्मको उपचार सेवा लिन सकिन्छ । पाँच जना भन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ तिरेर बीमा कार्यक्रममा जोडिन सकिन्छ ।

बीमा कार्यक्रमबाट ओपिडि सेवा, इमर्जेन्सि सेवा, अन्तरंग सेवा, एक्स रे, इसिजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, सूचीकृत औंषधि, शल्यक्रिया लगायतका सेवा उपलब्ध हुन्छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives