कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा

राष्ट्र न्यूज सम्वाददाता
जेठ १३, २०७८

पोखरा, १३ जेठ । कास्कीमा क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यसको निन्दा गरेका छन् ।

नेपाली काँग्रेस पोखरा महानगर सहसभापति राजेन्द्रमणि लामिछाने, नेकपा (माओवादी केन्द्र) पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने, नेकपा (एमाले) पोखरा महानगर अध्यक्ष मुक्तिनाथ पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष टिकाराम पौडेल र राष्ट्रिय जनमोर्चा पोखरा महानगर अध्यक्ष विष्णु पुरीले बिहीबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वभौम सम्पन्न प्रतिनिधि सभा विघटन गरी असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र राष्ट्रघाति कदम चालिएको भन्दै भत्र्सना गरिएको छ ।

राष्ट्रपतिबाट संविधान रक्षाको भूमिका निर्वाह गर्नुपर्ने बेलामा प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधि सभा विघटन गरी जेठ ८ गते मध्यरातमा चुनावको घोषणा गर्नु ०७७ पुष ५ का पुनरावृत्ति भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives