पोखरामा पत्रकार गणेश पौडेलको सम्झना

राष्ट्र न्यूज सम्वाददाता
जेठ ११, २०७८
ganeshh

पोखरा, ११ जेठ । कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

वक्ताहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारीमा लगाउन महासंघले पहल गर्नुपर्नेमा जोड दिंदै आफूले पनि यस्ता कार्यमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले कोभिडको बहानामा कुनै पनि मिडिया हाउसले पत्रकार निष्काशन गर्न नहुने भन्दै यस्तो गरेको पाइएमा पत्रकार महासंघ चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले टेलिभिजन पत्रकारिता जगतमा उदाउँदो व्यक्तित्व पौडेलको निधनले कहीं न कही अभाव महसूस हुने बताउनुभयो । उहाँले पौडेलको परिवारजनलाई आवश्यक परेको सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

महासंघ प्रत्येक पत्रकारको साथमै रहेको र हरेक दुःखमा साथ दिने भन्दै अध्यक्ष भण्डारीले कोभिड खोप लगाउन बाँकी रहेका पत्रकारलाई तत्काल खोपको व्यवस्था गर्न माग गर्नुभयो । साथै उहाँले कोरोना महामारीमा अत्यन्तै जिम्मेवार र सजग भएर खटिन आग्रह गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष नारायण कार्कीले सहयोद्धा पौडेलको निधनले सिंगो पत्रकार जगत स्तव्ध भएको भन्दै उहाँलाई बिर्सन निकै गाह्रो हुने बताउनुभयो । कोरोनाको दोश्रो लहर निकै खतरनाक र घातक रहेको भन्दै कार्कीले जोगिएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना संक्रमणले छोइहालेमा कत्तिपनि नआत्तिन, पोषिलो, झोलिलो पद्धार्थ खान र पुदिनाको पात धेरै भन्दा धेरै प्रयोग गर्न पनि आग्रह गर्नुभयो । कोभिड भएका व्यक्तिले खानेकुरामा नै धेरै भन्दा धेरै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बरालले गणेश पौडेलको निधनले सिंगो पत्रकारिता जगत नै स्तव्ध भएको बताए ।

कार्यक्रम महासंघका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको थियो ।

पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको वैशाख ३० गते निधन भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। उहाँका श्रीमती र दुई छोरा छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives