महोत्तरी, ७ जेठ (रासस)। महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ ।
मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताउनुभयो । “बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे” दाहालले भन्नुभयो, “अस्पताल पु¥याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।”
महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताउनुभयो । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उहाँको भनाइ छ ।
कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउनुहुन्छ ।
आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउनुहुन्छ ।
बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिनुभयो । “पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भन्नुभयो, “सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।”
अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।
यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताउनुभयो ।
जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्म जम्मा ४१ जनाको सङ्क्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा यसपालि एक हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो ।
यसपालि ११५ जनाले सङ्क्रमण जितेका छन् । गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको सङ्क्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
गतवर्ष सक्रिय सङ्क्रमितको सङ्ख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन
१४ औं एन प्याव्सन स्पोर्टस् मिटको समापन आज
एन प्याव्सन स्पोर्टस् मिट, दश जोड दुई फुटसलमा त्रिवेणी, सिनियर छात्र छात्रा टेबलटेनिसमा वड्स विजयी
१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु
आर्दश कपमा सेमिफाईनल समिकरण पुरा
Archives
Archives