गलेश्वर, १ जेठ (रासस) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् ।
म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् । जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् ।
कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताउनुभयो ।
बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताउनुभयो । “खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो”, कृषक थापाले भन्नुभयो । यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन ।
गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् । ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताउनुभयो ।
कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् ।
तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताउनुभयो । किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ । वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम
कुँडहर सहकारीको अध्यक्षमा विश्वबन्धु
पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित