दमौली, २५ वैशाख (रासस) । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।
कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत रु ४० हजार प्राप्त गर्नुभएको छ ।
त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ । गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको रु ४० हजार, तीन जना कृषकलाई ६ रोपनीको रु ३० हजार, एक जना कृषकलाई डेढ रोपनीको रु सात हजार पाँच सय र १३ जना कृषकलाई रु ६५ हजारका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।
कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । “नगदेबालीतर्फ आकर्षण बढाउन चालु आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौ, आगामी वर्षपनि यसले निरन्तरता पाउँछ,” उहाँले भन्नुभयो ।
गाउँपालिकामा सानो परिमाणमा लसुन र प्याज उत्पादन गर्ने कृषक धेरै नै भएपनि व्यावसायिक रुपमा उत्पादन गर्ने कृषक कम रहेका छन् । प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम एक रोपनीमा उत्पादन गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । “प्रोत्साहन रकम प्राप्त गर्नका लागि निवेदन माग गरेका थियौ, निवेदन परेपछि फिल्डमै गएर मूल्याङ्कनका आधारमा रकम प्रदान गर्ने मापदण्ड बनाइएको छ,” उहाँले भन्नुभयो ।
कृषकलाई बोयर बोका
तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ ।
व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेकोे वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको थियो ।
Related News
सम्बन्धित समाचार
३३ औ राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तिव्र पार्दै
उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
सुनको मूल्य घट्यो
Archives
Archives