गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने, अविश्वासको प्रस्तावमाथि मतदान हुने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २३, २०७८
Gandaki samsad

पोखरा,२२ वैशाख । अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशनको अर्काे बैठक बैशाख २७ गते बस्ने भएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले २७ गते ११ बजे बस्ने निर्णय गरेको हो ।

सत्तापक्ष र प्रतिपक्ष समेतको सहमतिमा बैठक आह्वान गरिएको हो । सत्तापक्षले यसअघि जेठ लागेपछि बैठक बोलाउन भनेको थियो । विपक्षीले भने जतिसक्दो छिटो बैठक बोलाउन दवाव दिएका थिए ।

दुवैपक्ष अडानमा लागेपछि मध्यमार्गी मिति खोजिएको सत्तारुढ सांसद मायानाथ अधिकारीले बताउनभयो । कोभिड लागेका सांसदलाई अलग्गै बस्ने व्यवस्था मिलाएर संसद बैठक बस्ने सभामुखले बताउनुभयो । कोभिड लागेका सांसदले बोल्न नपाएपनि भोट भने हाल्न पाउनु हुनेछ ।

बैठकमा मुख्यमन्त्रीको साटो अधिकारप्राप्त मन्त्रीले मुख्यमन्त्रीको तर्फबाट जवाफ दिनुहुने छ । । मुख्यमन्त्री गुरुङ अहिले कोरोना लागेर होम आइसोलेसनमा हुनुहुन्छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन कांग्रेस सहित ३ दलले विशेष अधिवेशन मागेर प्रदेश प्रमुखकोमा पत्र दर्ता गरेका थिए ।

त्यही आधारमा वैशाख १३ गते विशेष अधिवेशन सुरु भएको हो । वैशाख १५ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यसूची रहे पनि जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको सूचना पाएपछि सभामुखले वैठक स्थगित गर्नुभएको थियो । त्यसपछि सत्तापक्षले यो कदमको विरोध गर्दै आएको थियो ।

गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । तीमध्ये नेकपा एमालेका २७ जना, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का ३, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र १ जना सांसद छन् ।

गत वैशाख २ गते प्रमुख प्रतिपक्षी काँग्रेस, माओवादी केन्द्र, जसपाका गरी २८ सांसदले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री विरुद्ध अविश्वास पत्र दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives