नेलम्बोको स्वास्थ्य सामाग्री सहयोग अभियान जारी

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २३, २०७८
Nelambo help

पोखरा, २२ वैशाख । नेलम्बो नेपालले स्वास्थ्य सामाग्री सहयोग अभियानलाई जारी राखेको छ ।

पहिलो चरणको कोरोना संक्रमणदेखि नै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको नेलम्बोले यतिबेला पनि सहयोग अभियान जारी राखेको हो ।

स्थानीय तह, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, संचार क्षेत्र, सुरक्षा निकायलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिनुभयो । ‘संकटका बेला सबै एकजुट हुनुपर्छ, उहाँले भन्नुभयो, हामी सक्दो सहयोग गर्न तयार छौं।’

अध्यक्ष देवकोटाले कोरोना महामारीका बेला नेलम्बोले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसँगको सहकार्यमा कोरोना उपचार अस्पतालहरुका लागि १५ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्ने जानकारी दिनुभयो ।

यसैबीच, नेलम्बोले बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

निर्देशनालयलाई एक लाख ८५ हजार सात सय ५० र प्रतिष्ठानलाई ५० हजार सात सय ८० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो । मास्क, सेनिटाइजर, पिपिई सेट, थर्मल गन, भाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको थियो ।

प्रतिष्ठानका लागि नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले प्रतिष्ठानका निर्देशक प्रा.डा अर्जुन आचार्य र निर्देशनालयका लागि सामाजिक विकास मन्त्री नरदेवी पुनलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री पुनले नेपालीहरुमा संकटमा बेला एकजुट हुने संस्कार रहेको बताउनुभयो । उहाँले सरकार, सामाजिक संघसंस्था र जनता एकजुट भएर कोरोना महामारी विरुद्व लड्नुपर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले निर्देशनालयलाई प्राप्त सामाग्री गण्डकी प्रदेश भित्रका जिल्लाका अस्पताललाई पठाउने बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives