अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिदै नेपाली सेना

रासस
वैशाख २२, २०७८
nepal-army-sena

 नारायण न्यौपाने

काठमाडौँ, २२ वैशाख (रासस) । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ ।

सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो ।

काठमाडौँको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा उपलब्ध गराउन सकिने प्रारम्भिक अध्ययन गरिसकेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको अवस्था तीव्र हुँदै गएपछि सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा क्षमता बढाउने सिलसिलामा अक्सिजनको उपलब्धतासहितका अस्थायी अस्पताल निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गर्ने क्रममा सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको बताइसक्नुभएको छ । बहुपयोगी ती भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा बजेट निकासाका लागि सेनाले पत्राचार गरिरहेको जनाएको छ ।

ती सबै पूर्वाधार निर्माण करिब डेढ महिनाभित्रै तयार हुने अनुमान गरिएको छ । सचेत हौँ ः सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।

घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले मिचीमिची हात धुने र स्यानिटाइजर गर्ने विषयमा विशेष ध्यान पु¥याएर त्यो अवस्था आउन नदिन सरकारले पटक–पटक आग्रह गर्दै आएको छ ।

सेनाका प्रवक्ता पौडेल भन्नुहुन्छ, “भविष्यमा आइपर्ने परिस्थितिको समयमै आकलन गरी यस्ता विषयमा पनि हामी सबै खुला हुनुपर्छ । तर त्यो अवस्था आउन नदिआँै, हामी सबै संवेदनशील होऔँ, सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न स्वास्थ्य मापदण्डका सबै उपाय अपनाऔँ, यसैमा सबैको कल्याण छ ।”

सेनाले सुदूरपश्चिम क्षेत्रमा सोमबार एकैदिन कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका १३, मध्यपश्चिममा ११ र काठमाडौँ उपत्यकामा ३८ शव सङ्कलन गरी व्यवस्थान ग¥यो ।

विगतको तुलनामा सङ्क्रमण तीव्र फैलिएको घटनाका रूपमा यो सङ्ख्यालाई लिन सकिन्छ । अघिल्लो सङ्क्रमणका समयमा ज्यान गुमाउनेको सङ्ख्या अहिलेको तुलनामा निकै कम थियो तर अहिले त्यो अवस्था रहेन । यद्यपि हालसम्म सामूहिक दाहसंस्कारको अवस्था बेहोर्नुपरेको छैन ।

मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएका खण्डमा सङ्क्रमण फैलन गई मृत्युदर बढ्ने सम्भावना छिमेकी मुलुककै घटनाले स्पष्ट पारिसकेको छ । मुलुकमा स्वास्थ्य उपकरण, साधन स्रोत र दक्ष जनशक्तिको कमीले आउन सक्ने चुनौतीलाई सामना गर्न कठिनाइ हुनेतर्फ सबै जनता सचेत हुनुपर्ने देखिन्छ ।

शव सङ्कलनका लागि राज्यमा उपलब्ध एम्बुलेन्स, जनशक्ति र सुरक्षितरूपमा अन्त्येष्टि गर्न आवश्यक विद्युतीय शवगृह कमीका कारणले पनि हाम्रा लागि व्यवस्थापनमा चुनौती खडा गर्ने देखिएको छ ।

सङ्क्रमण फैलन नदिई परिस्थितिलाई सुधार गर्न नसकिएको खण्डमा भविष्यमा आउन सक्ने स्थितिमा सुधार ल्याउन निकै गाह्रो हुनाले सुरक्षाफौजले पनि निषेधाज्ञा र स्वास्थ्य मापदण्डलाई पालना गराउन कडाइका साथ निगरानी गरेको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै