वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु, २३ जना घाइते

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७८
tiger

चितवन, १९ चैत (रासस) ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् ।

तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् । गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो । हात्ती र गैँडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेको थियो ।

गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये गैँडा र बँदेलले १३÷१३, मगर गोही र हात्तीले तीन÷तीन तथा भालु र अजिङ्गरले एक÷एक जनालाई घाइते बनाएको थियो ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ ।

अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ । अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ ।

आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ ।

यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन् ।

मानिसलाई आक्रमणका अतिरिक्त घरपालुवा पशुपन्छी, घर गोठ, बालीनालीसमेत क्षति पु¥याउने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै