जनताका समस्या बुझ्यो काँग्रेसले

नेका हेमजाद्वारा पोखरा–२५ वडा कार्यालयलाई ज्ञापनपत्र

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७८
congress

पोखरा, १५ वैशाख । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली काँग्रेस पोखरा–२५ इकाइले ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काँग्रेसको एक अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालयलाई ज्ञापनपत्र वुझाएको नेपाली काँग्रेस पोखरा–२५ हेमजा इकाइका सभापति मधुसुदन त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त ज्ञापनपत्र सभापति त्रिपाठी र सहसभापति दानबहादुर थापाले पोखरा–२५ हेमजाका कार्यवाहाक अध्यक्ष दलबहादुर कुँवर र वडा सदस्य जितबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।

धेरै विकासका सम्भावनाहरु भएको यस वडामा आम हेमजावासीले अपेक्षा गरे अनुरुपको विकास र सुविधाबाट बञ्चित भएकोले तत्काल सुधार्न ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ ।

स्थानीय तहको निर्वाचन पश्चात् वडावासीले जनप्रतिनिधिहरुबाट जुन आशा, इच्छा र आकांक्षा लिएका थिए सो हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुलाई गम्भीरतापूर्वक लिएर छिट्टै व्यवस्थापन गरी कार्यक्रमहरु ल्याउन माग गरिएको छ ।

ज्ञापनपत्रमा घर जग्गा र अन्य कर, फोहोर मैला व्यवस्थापन, खानेपानी, सडक÷पुलका काममा आम हेमजावासीले सास्ती खेप्न परेको गुनासो आएकोले अविलम्व समाधान गर्न आग्रह गरिएको छ ।

त्यस्तै लक्षितवर्ग कार्यक्रममा पारदर्शी नदेखिएको र आफन्तलाई मात्र वितरण गर्ने मनसाय राखेकाले यसलाई तत्काल सुधारेर हेमजावासीले अनुभूति गर्ने बनाउन भनिएको छ ।

नक्सा पास, निर्माण सम्पन्नको प्रमाण, विभिन्न सिफारिसपत्रलगायतका विषयमा सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आग्रह गरिएको छ ।

निर्वाचित प्रतिनिधिहरू विकास निर्माणमा संलग्नभई नीतिगत निर्णय गर्नुपर्ने र जनताका समस्या समाधान गर्न बढी क्रियाशील हुनुपर्नेमा सो नदेखिनु, वडाभित्र रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको आधारभूत माग सम्बोधन गर्न पहल गर्नुपर्ने र फाराम भर्न छुटपुट भएकाहरूलाई अविलम्ब प्रक्रियामा लैजानुपर्ने, यस वडामा अत्यन्त कम बजेट विनियोजन भएकोले वडामा बजेट पार्न वडा प्रमुखले विशेष पहलगरी थप बजेटको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सुईंखेत खोलाका नदीजन्य सामाग्रीहरु वडाले आफ्नो मनोमानी ढंगबाट आँफुखुशीका मानिसहरुलाई उपलब्ध गराएको भन्ने जनगुनासो आएकोलाई यसलाई अविलम्व रोक्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक अध्यक्ष दलबहादुर कुँवरले वास्तविक समस्याहरु पहिचान गरि जनप्रतिनिधिलाई काम गर्न सहज बनाएको बताउदै यी साझा समस्यालाई हल गर्न वडा कार्यालय कटिवद्व भएर लाग्ने बताउनुभयो ।

अनुगमन समितिको संयोजकमा दानबहादुर थापा, सदस्य सचिवमा मोतीराज तिमिल्सिना, तथा सदस्यहरुमा नीलकण्ठ पौडेल, दयाराम बास्तोला, दानबहादुर भुजेल, नरबहादुर सापकोटा, नारायणबहादुर कुँवर, दिपकबहादुर थापा, मैयाँ सापकोटा, भीमप्रसाद श्रेष्ठ र गणेशप्रसाद अधिकारी रहनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives