पोखराका १० होटल पुरस्कृत

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ११, २०७८
Prize

पोखरा, ११ वैशाख । पश्चिमाञ्चल होटल संघ पोखराले जाउँ है पोखरा अभियान अन्तर्गत यसपटकको नयाँ वर्षमा पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको विल भुक्तानी प्राप्त गरेका १० उत्कृष्ट होटलहरुलाई शुक्रबार पुरस्कृत गरेको छ ।

क्युआर कोड मार्फत् होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले यसपटक गत चैत ३१ र यही बैशाख १ गते ४० प्रतिशत छुट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

नगद छोडौं फोन पे गरौं भन्ने नाराका साथ संघ र फोन पे प्रालिले आपसी सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई प्रबद्र्धन गरेको अध्यक्ष तुलाचनले सुनाउनुभयो । यसका लागि संघले यो नयाँ बर्ष जाउँ है पोखरा भन्ने नारा दिएको थियो ।

कार्यक्रम अन्तर्गत प्रथम हुने एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय हुने २ होटललाई २० हजार रुपैयाँ र तृतीय हुने सात होटललाई पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

जस अन्तर्गत टिका रिसोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय तथा चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बाराहीलाई एक कार्यक्रमका विच पुरस्कारवापतको चेक हस्तान्तरण गरिएको थियो ।

फोन पे प्रा.लि. सँग आवद्ध ५५ बैंक तथा वित्तीय संस्थाको संजाललाई उपयोग गरी होटलको विल क्यु आर कोड मार्फत् भएको कारोबार संख्याको आधारमा ती होटल पुरस्कृत भएका हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives