तारानाथ आचार्य
बलेवा, ९ वैशाख (रासस) । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् ।
सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।
धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन् ।
प्रयोगशालामा खटिने १०÷१० पालिकामा स्थापना भएका कोभिड अस्पतालका पाँच जनाको दरले ५० जना, १० चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १०० गरी झण्डै २०० जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् । “सङ्क्रमणदर बढिरहँदा पनि क्वारेन्टिन र आइसोलेसन थप गर्ने विषयमा चासो बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “काम गरेको केही पाइँदैन भनेर धेरै साथी सुस्ताएका छन् ।”
“गत आर्थिक वर्षको असार महिनाको भत्ता पाएका छैनौँ, यसपछि सङ्क्रमण बढेर चौबीसै घण्टा खटिनेलाई पनि केही राहत भएन”, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, “कार्यालयको नियमित कामबाहेक जोखिममा खटिँदा केही नपाएपछि निराशा बढेको हो ।”
जोखिम मोलेर काम गर्दा अग्रपंक्तिमा खटिने ५० बढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरु अहिले नियमित खटिन डराएको कार्यालय प्रमुख गुरौले बताउनुभयो ।
जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको उहाँको भनाइ छ । अस्पताल विकास समितिले पनि जोखिममा खटिएकाको सेवासुविधाका लागि पहल गरिरहेको अध्यक्ष केवी रानामगरले बताउनुभयो ।
गत वर्ष जोखिम भत्ताका लागि एक करोड बजेट आयो भनेर चर्चा भए पनि त्यो व्यवस्थापकीय काममा मात्रै खर्च भएको उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार